असममा नेपाली पत्र-पत्रिकाको स्थिति
असम तथा उत्तर पूर्वाञ्चलको समाचार पत्र र पत्र-पत्रिका प्रकाशनको क्रमलाई हेर्ने हो भने मणिसिंह गुरूङ्गको सम्पादनमा शिलाङ्बाट प्रकाशित साप्ताहिक पत्र गोर्खा सेवक को नाम सर्वप्रथम आउँदछ। 1974 सनदेखि प्रकाशित भएको यो पत्रबाट नै उत्तर पूर्वाञ्चलमा नेपाली समाचार पत्र प्रकाशनको शुरूवात भएको देखिन्छ। सम्पूर्ण उत्तर पूर्वाञ्चल अहिन्दीभाषी क्षेत्र भएकोले नेपालीका लागि आवश्यक मुद्रण सुविधाको पनि यहाँ धेरै अभाव थियो। मुद्रण समस्याका साथै उत्तर पूर्वाञ्चलका नेपालीहरू अनेक प्रकारका आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक समस्याहरूबाट समेत पीडित छन र सबभन्दा पहिले आफ्नो अस्तित्व र स्थायित्वको लागि नै सङ्घर्षरत पनि रहनु परेको हुँदा यस भेगमा नेपाली समाचार पत्र र पत्र-पत्रिकाहरूको प्रसार र विकास जुन गतिमा अपेक्षा राखिएको थियो त्यस्तो हुन सकेको छैन। यसरी सम्वाद र साहित्यको प्रचार प्रसारका लागि जुन किसिमको एक निश्चित र शान्त वातावरणको अपेक्षा रहन्छ त्यो भर्खरै मात्र शुरू भएको अनुमान हुन्छ। एकपछि अर्को जटिल समस्याहरूसँग सङ्घर्ष गरिरहनु परेको अप्ठ्यारो परिस्थितिमा पनि समय समयमा यस पूर्वाञ्चलका सहृदयी नेपालीहरूले आ-आफ्ना प्रकारले सम्वाद र साहित्य जगतमा योगदान दिंदै आएका छन।
सन 1934 देखि निस्कन थालेको यो गोर्खा सेवक नामक साप्ताहिक पत्रले उत्तर पूर्वाञ्चलको नेपाली समाचार पत्रको इतिहासमा अमिट छाप छोडदै नेपाली भाषाको प्रचार प्रसार र विस्तारमा योगदान पुऱ्याएको भएपनि यस क्षेत्रमा साहित्यिक गतिविधि न्यूनता र शिथिलताले गर्दा गोर्खा सेवक नेपाली समाचार जगतको बाटो खनी सन 1936 मै बन्द हुन पुग्यो।
असम तथा उत्तर पूर्वी भारतबाट धेरै सङ्ख्यामा नेपाली पत्र-पत्रिकाहरू प्रकाशित भए। अनि केही अवधिसम्म प्रकाशित भएर बन्द पनि भए। धेरै सङ्ख्यामा पत्र-पत्रिकाहरू प्रकाशित भए पनि यसको प्रचार प्रसार, विकास स्थायी हुन सकेन। सङ्ख्याको दृष्टिले हेर्ने हो भने सन् 1948 मा गुवाहाटीबाट हिमाद्री, सन् 1955 मा दरंग नेपाली छात्र सङ्घको प्रभात, सन् 1956 मा आनन्दसिंह थापा,वीरसिंह भण्डारी र नरेन्द्र सिंह राणाको सम्पादनमा जाग्रत गोर्खा, यसै वर्ष तेजपुरबाट ब्रह्मपुत्र, सन 1958 मा डिगबोइबाट मुक्ति, सन् 1960 मा दुलियाजानबाट हिमालय, डिगबोइबाट कोपिलो, हाफलंगबाट नवज्योति, सन् 1969 मा गुवाहाटीबाटै हाम्रो सयपत्री आदि पत्रिकाहरू प्रकाशित भए।
यसरी प्रकाशित प्राय जसो पत्रिकाहरूको आयु अत्यन्तै छोटो रहेबाट एक अर्कोसँग दाँजेर हेर्ने र मूल्याङ्कन गर्ने स्थिति छैन। जे होस त्यसबेला प्रकाशित पत्रपत्रिकाहरू साहित्य विधाप्रतिनै समर्पित रहेका हुँदा यिनीहरूले केही न केही छाप भने जनमानसमा छाडेकै छन।
असम तथा उत्तर पूर्वाञ्चलका नेपाली पत्र-पत्रिकाहरूलाई प्रकाशित कालको आधारमा दुई भागमा बाँडन सकिन्छ। सन् 1970 अघि र त्यसपछि प्रकाशित भएका पत्र-पत्रिकाहरू नेपाली पत्र-पत्रिकाहरूको इतिहासमा पछिल्लो सत्तरीको दशकलाई सङ्क्रमण कालको रूपमा लिन सकिन्छ। किनभने त्यसपछिको समयमा प्रकाशित भएका कुनै पनि पत्र-पत्रिकाहरू नेपाली भाषा मान्यता आन्दोलनबाट कुनै न कुनै प्रकारले प्रभावित भएका छन। जनमानसमा पत्र पत्रिकाहरू सूचना प्रचार र समाचारको बाहक मात्रै नभएर वर्तमान समयको जनजागरणको एउटा सशक्त माध्यम पनि भएको हुँदा सत्तरीको दशक पछिका अनेक पत्र पत्रिकाहरूले भाषा आन्दोलन र प्रचार प्रसारको दायित्व पनि बोक्न थाले।
सत्तरीको दशकपछि सन् 1971 मा गुवाहाटीबाट हाम्रोध्वनि, यसैवर्ष शिलाङबाट युगरेखा, 1972 मा तेजपुरबाट आँखा, हाफलंगबाट नौलो किरण, लामडिङबाट विन्दू, सिमलगुढीबाट सहारा, डिब्रुगडबाट साथी, ग्वालपाडाबाट उषा, गर्दै एकाएक अनेक पत्र पत्रिकाहरू प्रकाशित भएर आए। यी पत्र पत्रिकाहरूले आ-आफ्नो क्षेत्रका साहित्यिक गतिविधिहरूलाई प्रभावित पार्दै भाषा आन्दोलनको क्रमलाई पनि अघि बढाए। सन् 1974 मा गुवाहाटीबाट सलेदो, बिदाइ, रौताबाट च्याँखे, तिनसुकियाबाट पूर्वाञ्चल समाचार र कोइलाखानबाट बाटो, सन् 1975 मा कार्बि आंलङ हवाइपुरबाट हाम्रो स्वर, सन् 1976 मा गुवाहाटीबाट जनमुख, सन् 1978 मा गुवाहाटीबाट सामयिकी, अखिल असम नेपाली छात्र सङ्घको अगुल्टो र सिमलगुडीबाट युगसाथी, सन् 1980 मा कहिले उदालगुडी र कहिले तेजपुरबाट आमा, नलबाडी निकासीबाट खुकुरी, कामरूप (गेरूवा) बाट भानु उदय, तेजपुरबाट तरङ्ग, बालिजानबाट नयाँ दिगन्त, छयदुवारबाट शिखा गर्दै धेरै सङ्ख्यामा पत्र पत्रिकाहरू अस्तित्वमा आए। तर सबैजसो पत्र पत्रिकाहरू आ-आफ्नो सीमित घेराभित्रै सीमित बनेर केही अवधि पश्चात् नै अनेक पत्र पत्रिकाहरू आर्थिक चपेटमा परी असमयमा नै बन्द भए। तैपनि हौसला र आशाका साथ नयाँ नयाँ प्रकाशनहरू आउँदै रहे।
सन् 1981 मा नाग्रिजुलीबाट डोको, गुवाहाटीबाट आह्वान, ज्वाला, नौदुवारबाट स्पन्दन, गुवाहाटीबाट विश्वजन आवाज र कोक्राझारबाट पूर्वाञ्चल भाषा सम्वाद, सन् 1982 मा तेजपुरबाट कलेज बुलेटिन, बिहालीबाट पूर्वोदय, आसाम गोर्खा सम्मेलनको सम्मेलन, सन् 1983 मा सोठियाबाट सामयिकी, बुढीगांगबाट पूर्वाञ्चल पत्रिका, सन् 1984 मा हवाइपुरबाट हाम्रो आँट, गुवाहाटीबाट परिषद पत्र, डिगबोइबाट प्रकाशन पत्रिका, शिवसागरबाट जन संगालो, सन् 1985 मा ग्वालपाडाबाट संगत, सन् 1987 मा निकासीबाट छिमेकी, सन् 1990 मा शिङरीबाट सयपत्री, तेजपुरबाट आजको वार्ता (पछि देशवार्ता) सन् 1991 मा विश्वनाथ साहित्य पत्रिका, निकासीबाट मज्जा, सन् 1992 मा गुवाहाटीबाट गोर्खा टाइम्स, गुवाहाटीबाटै मासिक पत्रिका नौलो कोसेली प्रकाशमा आए।
असमको नेपाली पत्रकारिता भन्नाले सन् 1990 मा तेजपुरबाट प्रकाशमा आएको आजको वार्ता र पछि देशवार्ता नामाकरण भएको पत्रिकाले आधुनिक ढाँचामा शुरूवात गरेको मान्न सकिन्छ। हुनत यस अघि पनि धेरै पत्र पत्रिकाहरू प्रकाशनमा आएका थिए। तर ती पत्रिकाहरू काव्यात्मक रचना प्रधान रहने हुनाले समाचारधर्मी लेखहरूलाई लिई असमबाट नयाँ आयाम शुरू गरेको थियो यस पत्रिकाले। असम तथा पूर्वाञ्चलबाट हस्तलिखित पत्रिकाहरू पनि विभिन्न ठाउँबाट केही अवधिसम्म चलेका थिए।
उदालगुडीबाट सृजना नामक हस्तलिखित पत्रिका केही दिनसम्म चलेको थियो। पूर्वाञ्चलको साहित्यिक गतिविधिमा अग्रणी भूमिका राख्ने शिलाङ्बाट मादल, अछेता आदि अनेक नामले पत्रिकाहरू प्रकाशित भए तर सम्वाद पत्रको स्थान भने उनीहरूले लिन सकेनन। सन् 1992 मा पहिले गुवाहाटीबाट र पछि उदालगुडीबाट प्रकाशित भएको नेपाली समाचार पत्रिका नौलोकोसेली ले खोजी पत्रकारिताको आधारशिला बनाएको थियो। गुवाहाटीबाट हेमन्त शैकियाले सपरिवार नामको एक रङ्गीन मासिक पत्रिका प्रकाशित गरी आठ वर्षसम्म चलाएको थियो। रोहित गौतम यस्का सम्पादक थिए।
असममा 2009 सनमा हाम्रो प्रजाशक्ति प्रकाशित हुन थालेपछि दैनिक पत्रकारिता शुरू भएको हो। पहिले टेबोलोइड आकारमा र पछि सम्पूर्ण दैनिक पत्रको रूपमा प्रकासमा आएपछि असममा नेपाली समाचारहरूले आत्मप्रकाश गर्न थाले। तर पर्याप्त पूँजीको अभावमा त्यो पत्रिकाले संवाददाताहरू नियोग नगरिकनै शुभेच्छुकहरूबाट प्राप्तहुने समाचारहरू र अन्य सूत्रहरूको सहाराले नै समाचार पत्र निकाल्दै रहे। अब हिमालय दर्पणको असममा पदार्पण भएपछि पूर्णांग रूपमा नेपाली समाचार पत्र यस भेगका नेपाली भाषीहरूले पाएका छन। तर मान्छेहरूमा यस्को प्रभाव विस्तार गर्न भने धेरै शीप र जाँगरको प्रयोजन छ। नयाँ लेखकहरूको जमातको पनि आवश्यक छ यस्लाई फस्टाउनको लागि।
वैद्यनाथ उपाध्याय
लेखकीय सम्पर्क- खांखलाबारी, उदालगुडी-784509, बीटीएडी, असम। 7002580050/7896907741(M)
Email: baidyanathupadhyaya06@gmail.com
No comments:
Post a Comment