समकालिन गोर्खाबोधी लेखक : गोर्खा चिन्तक स्वर्गीय पूर्ण छेत्री श्रद्धापूर्ण स्मरण।।।
**
(बोगीराम गोर्खा भण्डारी, टकौबारी गहपुर)
**
गत १७ जुलाईको दिन ढेकियाजुलिबाट सक्रिय सचेतन युवा, गोर्खा छात्रकर्मी रजत निरोला भाइले सम्पर्क गरेर अवगत गर्नु भयो कि अगामी १७-१८ अगष्ट सन.२०१९ मा अखिल असम गोर्खा छात्र संघ शोणितपुर जिल्ला समितिको ३८ औं द्वीवार्षिक अधिवेशन खनामुखमा अनुष्ठित गर्ने निधो भएको छ । सो औसरमा एउटा स्मारिका पनि प्रकाशित गरिने तय भएर सम्पादना समिति गठन गरिएको छ। तसर्थ सो स्मारिकामा गोर्खा जाति सम्बन्धमा विषय तोकेर लेखहरू आमन्त्रण गरिने भएको अनि तपाँइबाट “समकालिन गोर्खावादी लेखक” यस विषयक लेख पाउने विश्वास आशा अपेक्षा राखेको छौं। कृपया हजुरको लेख भरिसक्के आगामी २७ जुलाई भन्दा अघिनै rajatbharadwaj1994@gmail.com मा इमेल गरिदिए आभारी रहने थियौं। ल हुन्छ म सक्तो प्रयास गर्ने छु भने, तर पनि आआफ्नो विभिन्न व्यस्ततामा बिर्सीने रोग नै छ र फेरि बेला-बेला याद गराउँदै गर्नुपर्छ भन्ने चैं संलघ्न प्राय सबैको अनुभवको कुरा हो। तदानुरूप याद दिलाउने कामपनि २१ तारिक पुन्: गरेका हुन रजत भाइले। यसैकारण उसैदिन देखि मन बनाएर यो लेख लेख्नुपर्ने कर्तव्य बन्यो र निर्धारीत समय भित्रै इमेल गरिन्छ ।
*
निर्धारीत शीर्षकमा पहिलो स्थान ओघट्ने अग्रज हुन- गुवाहाटीका स्वर्गीय पूर्ण छेत्री।यस लेखमा उहाँको संक्षिप्त जिवनी परिचय केही समेट्ने प्रयास गरिएको छ ।
परिचय :-
सन १९६१ (1961) को २९ (29) दिसेम्बरको दिन असमको शिलचर अन्तर्गत वकील पट्टीका बासिन्दा गोर्खा सैनिक दलबहादुर छेत्री र डिल्ली कुमारी छेत्रीको जेठो छोराको जन्म हुन्छ जसको नाम राखियो पूर्ण छेत्री। सैनिक जागिरबाट अवकाश ग्रहण गरे पछिनै क्रिश्चियन बस्ती उदयाचल, दिसपुर गुवाहाटीमैं स्थायी बसोबासोको परिवन्ध गरेर पुन: केन्द्रीय जल आयोगमा कर्मरत हुन्छन लाहुरे स्व: दल बहादुर छेत्री। नानी हुर्कीदैं गए पछि स्कुल पढाइको परिबन्ध गरे, र सन १९७९ (1979) मा गुवाहाटीकै 'तरूणराम फुकन हिन्दी हाई स्कुल'बाट मेट्रीक परिक्षा उत्तीर्ण हुन्छन-पूर्ण छेत्री।
समय र परिस्थितिगत समस्या अनि सोच बिचार अनुसार सन १९८१(1981)मा पुर्ण छेत्रीपनि सेनाकै कुमाउँ रेजिमेन्टमा भर्ना हुन्छन। कर्तव्य पालन गर्दा-गर्दै उनको हात भाँचिएको कारण सन १९८२(1982) मै स्वास्थ जनित कारणले सेवाबाट अवकाश मिल्छ ।मात्रै एकबर्ष सैनिकको रूपमा देशको सेवा गरेर अवकाश ग्रहण गरे पछि प्राप्त हुने पेन्सनको थोरै रकमले घरजम चल्न सारो पर्ने र आफूलाई पनि व्यस्त रख्तै केही काम गर्ने तय गरेर आफ्नो शिक्षाको सद्योपयोग गर्दै गुवाहाटीमै बेसरकारी स्कुलको शिक्षक र पत्रकार समेतको कर्तव्य पालन गर्न थाल्छन । त्यसको संसगै जातिय विभिन्न संस्था-संगठन सित जडित हुदैँ विभिन्न अहोदामा सेवा योगदा पुर्याउदैँ आएका हुन । असमबाट गोर्खा भाषाको पक्षमा अटल र समलव्यक्ति पूर्ण छेत्रीज्यूको संक्षिप्त साहित्यिक व सामाजिक जीवन यस प्रकार देखिन्छ ।
(साहित्यिक)
1) सह-सम्पादक- :पूर्वोध्वनि (हिन्दी-1989
2) सम्पादना सल्लाहकार : पूर्वोध्वनि (हिन्दी-1991
3) सम्पादक : युवा दर्पण(अखिल गुवाहाटी नेपाली युवा परिषद्को मुखपत्र-1992)
4) सहयोगी सम्पादक : असम गोर्खा सम्मेलन स्मृतिग्रन्थ-1992
5) सम्पादक : ‘निकेतन’ वार्षिक मुख-पत्र, नेपाली साहित्य-कला निकेतन-1997
6) सम्पादक : ‘पुष्पाञ्जली’( स्व: नर बहादुर ठकुरी)
7) सम्पादक : भानु स्मारिका (स्वर्ण जयन्ती)। गुवाहाटी भानु जयन्ती समारोह-2014
8) सम्पादक : पाक्षिक खुकुरी-2006।
(सामाजिक संघ-संगठन)
9) कार्यालय सचिव : अखिल असम नेपाली छात्र संघ (वर्तमान आग्सु-1986)
10) भूतपूर्व कार्यलय सचिव : असम गोर्खा सम्मेलन
11) भूतपूर्व सदस्य :अखिल भारतीय नेपाली(गोर्खाभाषा) भाषा समिति ( केन्द्रीय समिति)
12) संस्थापक सह-सचिव : असम गोर्खा संग्राम परिषद
13) संस्थापक सभापति : अखिल गुवाहाटी नेपाली युव परिषद (पछि अध्ययन मन्थनले गोर्खा युवा परिषद पार्नुपर्ने बोध अनुभव)
14) भूतपूर्व प्रचार सचिव : नेपाली साहित्य परिषद
15) भूतपूर्व सदस्य : असम नेपाली साहित्य सभा
16) भूतपूर्व मूल-सचिव : नेपाली सुरक्षा परिषद कामरूप जिल्ला समिति
17) भूतपूर्व कार्यकरी सभापति : नेपाली साहित्य कला निकेतन गुवाहाटी
18) भूतपूर्व मूल-सचिव : नेपाली मन्दिर प्रवन्धक समिति गुवाहाटी।
19) भूतपूर्व मूल-सचिव : सेउजी साहित्य सभा, असम साहित्य सभाको शाखा।
20) संस्थापक प्रवक्ता : गोर्खा अटोनोमास काउन्सिल डिमाण्ड कमिटि (आग्सुद्वारा गठित)
प्रकाशित कृति:-
१).”सुर्योदय हुनुभन्दा अघि’ ,(खण्डकाव्य-1997)
२).” हामी गोर्खा हामी भारतीय” ( उल्लेखित निबन्ध संग्रह-2007)
३) ” गोर्खा चिन्तन”,( निबन्ध संग्रह-2009)
४)” बैशाख पन्द्र गते” , (गोर्खा जातिय समानताबोधी सामाजिक उपन्यास 2012)
सम्मानित :
भाषा संग्रामी सम्मान (भानेभास, केन्द्रीय समितिद्वारा),
: आग्सु रजत जयन्ती समारोहमा सम्मानित
पारिवारीक जीवन:- :
पत्नि श्रीमती निर्मला छेत्री वैवाहिक बर्ष 1982 , भानु छेत्री जेठो छोरा र सीमा छेत्री बुहारी, जनक छेत्री कान्छो छोरा ।
जातिय छात्र संगठन आग्सुको उत्थानकालको बौद्धिक र तार्कीक भण्डार र जीएसीडीसीको संस्थापक प्रवक्तापनि रहेका पहिलो सशक्त गोर्खे कलमकार पूर्ण छेत्री वास्तवमा हेर्दा असम/भारतीय गोर्खा महाजातिको एक आदर्श चिन्तक, लेखक दर्बीलो स्तम्भनै भन्नु पर्छ। पारिवारिक आर्थीक अवस्था दर्बीलो नभए तापनि जातिय एकताको सांगठनिक प्रयासहरूमा तुरून्तै पुग्ने , प्रयोजन र दायित्व अनुशार तथ्यात्मक वक्तव्य दिन सक्ने व्यक्ति । व्यक्तिगत रूपमा गोर्खा महाजातिय चिन्तनका प्रयासरत सिकारू पाइलाहरूमा उनले औँलो थामी दिएको भन्दापनि गलत नहोला । किनकि असमको पहिलो शसक्त र तथ्यात्मक निर्धक्क गोर्खा जातियताको अडानका लेखकनै उनै थिए।
सन 2007 मा प्रकाशित उनको दोस्रो कृति "हामी गोर्खा हामी भारतीय" गोर्खा जातिय परिचायक तथ्यात्मक निबन्ध संग्रहनै आजको युवा जमातको निम्ति उर्जा स्रोत मान्न संक्षिप्त तथ्य भण्डार भन्न सकिन्छ । त्यो किताप छापिए जति पूरै सकिए, तर पुन प्रकाशनको लागि आर्थीक अवस्थाले उनलाई साथ नदिएको कारण धेरै पाठकको त्यो माग पूरा हुन सकेन।
विगतको दिनमा आग्सुको स्वायत्वशासित परिषदको माग उर्लीएको फलस्वरूप असम सरकारले सन २०१० मा गठन गरेको अस्थायी व्यवस्था “गोर्खा उन्नयन परिषद असम ( जीडीसी) ले धेरै लेखकका किताप प्रकाशित गरिदिएको कुरा सुनिन्छ भने यस्ता जातिय चिन्तनका जान्नुपर्ने तथ्यात्मक पुस्तकहरूलाई पुन प्रकाशित गर्नुपर्ने सुचित गरितापनि दायित्ववोध नगरेकोमा उनको चित्तमा दुखेसो रहेको अस्पष्टरूपमा उहाँसितको भेटघाटमा र फोनमा कुरा गर्दा अनुभव गरिएको थियो।
प्रसङ्गमा चाखलाग्दो र उदेकलाग्दो कुरा अटल गोर्खा जातियताबोधी तथ्यात्मक लेखक पूर्ण छेत्रीका कृतिको समिक्षा भनौ मुल्याङ्कन अथवा भनौ समालोचना असम भूमिका कुनै साहित्यकारले कतै गरेको देखिएन अहिले सम्म । किताप खुबै दर्कारी भन्दै दुलियाजानका साहित्यकार शिवकुमार नेवारले दस प्रति लगेर धेरैजना स्थापित साहित्यकारगणको बिच बितरन गर्दै समिक्षा हवोस भन्ने प्रयत्न गरेको छ बर्ष पुग्यो भन्ने थाहा लाग्छ। कि त नेपाली जाति भन्ने लेखक महानुभवले त्यो तथ्यात्मक कृतिमा समिक्षा लेख्नजाँदा जुकालाई नुन हालेझैँ अवस्था भएको हुनपुगेको हुन सक्छ नत्र त्यी तथ्यात्मक कितापहरूको समिक्षा गर्न सामर्थवान साहित्यकारनै छैनन हाम्रो यता भन्ने कुरा अनुमान गर्नु पर्ने हुन्छ। होइन भने सहित्यिक कृतिहरूको समिक्षापनि राजनीतिको जस्तो दलगत अनि अहोदा गत अथवा आग्रह अनुरोध बिन्तिको आधारमानै हुने गर्छ भन्नेकुरा ठान्नुपर्ला !!!!!
खर्चेको रकम त उठेन एकचोटीपनि, तयारी गर्दैछु अर्को एउटा आखिरी प्रकाशित गर्छु फेरिपनि । आज धेरैदिन पछि फोन सम्पर्कमा २ साल अघि भन्नु भएको थियो गोर्खा लेखक पूर्णदाइले ।
॰
कालक्रममा एकान्तको साथी बनिदै अन्तरमनको दर्द निबारक प्रचलित पेय,कटुवालको झै जीवन साथी बनिदै गयो उनकोपनि। गोर्ख महाजातिको चिन्तक गोर्खा भाषाको समर्थनमा तथ्यात्मक लेख/किताप असमबाट लेख्ने पहिलो व्यक्ति पूर्ण छेत्रीज्युको अथक प्रयासलाई गोर्खे सलाम । मत्रै ५६ बर्षको जीवनको बीटमार्दै दिनांक ०९-०८-२०१८ मा उहाँको देहान्त भयो।गोर्ख महाजातिको चिन्तक गोर्खा भाषाको समर्थनमा तथ्यात्मक लेख/किताप असमबाट लेख्ने पहिलो व्यक्ति पूर्ण छेत्रीज्युको अथक प्रयासलाई गोर्खे सलाम सहितै हार्दिक श्रद्धान्जली।असमका गोर्खा युवा जागरणका अग्रणी मार्गदर्शक सचेतन गोर्खा चिन्तक पूर्ण छेत्री अमर रहुन। उनले सजाएको सामाजिक समानतयुक्त गोर्खा महाजातिको सपना साकार हवोस।
बोगीराम गोर्खा भण्डारी
No comments:
Post a Comment